भारतमा ग्यास सिलिन्डर विस्फोट: सल्यानका दुई परिवारका ९ जनाको मृत्यु, गाउँ नै शोकमा
काठमाडौँ, २९ पुस । रोजगारीको सिलसिलामा भारत पुगेका सल्यानी नेपालीहरूका लागि सोमबारको रात काल बनेर आयो। भारतको हिमाचल प्रदेश, सोलान जिल्लाको अर्की भन्ने स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२, टाकुराका ९ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनबहादुर विक र काशिराम विकका दुई परिवार रहेका छन्। पसलमाथि रहेको कोठामा सुतिरहेका बेला अचानक आगलागी भईमा सिलिन्डर विस्फोट भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि मृतकहरूको शव चिन्न समेत गाह्रो हुने गरी क्षतविक्षत भएको छ।
मृत्यु हुनेहरूको नामावली:
१. धनबहादुर विक (३३ वर्ष)
२. कविता विक (श्रीमती, ३२ वर्ष)
३. राधा विक (छोरी)
४. रेनुका विक (छोरी)
५. राजन विक (छोरा)
६. काशिराम विक (४७ वर्ष)
७. टीका विक (श्रीमती, ३२ वर्ष)
८. अनु विक (छोरी, १२ वर्ष)
९. किरण विक (छोरा, ७ वर्ष)
घटनापछि नजिकैको अर्को घरमा सुतेका अन्य ४ जनाले भने भागेर ज्यान जोगाएका छन्। विपन्न आर्थिक अवस्थाका कारण अढाई वर्षअघि भारत पुगेका यी परिवारको मृत्युले सिङ्गो टाकुरा बस्ती शोकमा डुबेको छ।
सिद्धकुमाख गाउँपालिका–२ ले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ भने शवलाई नेपाल ल्याउने वा उतै दाहसंस्कार गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएकाे छ।