शुक्लागण्डकी सामूहिक हत्या प्रकरण: हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ, अपराध स्वीकार
तनहुँ, ३० पुस । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित कसेरीघाट फोहरमैला प्रशोधन केन्द्रमा भएको तीन जनाको बीभत्स हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत शनिबार प्रशोधन केन्द्रमा तीन जना मृतावस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिले प्रारम्भिक सोधपुछका क्रममा हत्या गरेको स्वीकार गरिसकेका छन् । पक्राउ परेका ती व्यक्ति सोही फोहरमैला प्रशोधन केन्द्रमा नियमित आउजाउ गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।
दुई मृतकको पहिचान खुल्यो, एक अझै अज्ञात
शनिबार मृत फेला परेका तीनमध्ये दुई जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतकहरूमा:
नारायण विक (४१ वर्ष): शुक्लागण्डकी नगरपालिका–११ र देउमाया थापा (५८ वर्ष): भिमाद नगरपालिका–८, भागरका रहेका छन् ।
घटनामा ज्यान गुमाएका अर्का एक जना पुरुषको भने अझै सनाखत हुन सकेको छैन ।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने गोप्य राखेको छ र उनलाई अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाइने जनाएको छ । सामूहिक हत्याको कारण के थियो र घटनामा अन्य कसैको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान भइरहेको बताएको छ ।