त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सेनासहितको टोलीद्वारा खोज तथा उद्धार सुरु
काठमाडौँ, १४ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासहितको प्राविधिक टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयका अनुसार आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख र साइट इन्जिनियरसहित नेपाली सेनाको विशेष टोली घटनास्थलमा पुगेर कार्य सुरु गरिसकेको छ। बाढीले ठुलो क्षति पुर्याएको यस क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी र क्षतिको यकिन विवरण सङ्कलन गर्न यो टोली खटिएको हो।
मन्त्रालयले भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही कठिनाइ भइरहेको जनाएको छ। यद्यपि, चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि सुरक्षाकर्मी र प्राविधिकहरूको टोली उच्च सतर्कता अपनाउँदै कार्यस्थलमा सक्रिय रहेको छ।
यसअघि भदौ १० गतेको बाढीले आयोजनाका विभिन्न संरचना र त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरू प्रभावित भएका थिए। सञ्चार र यातायात सम्पर्क बिस्तारै सुचारु हुँदै गएपछि उद्धार कार्यले थप गति लिएको छ।