बाढीले पुल बगाएपछि वैकल्पिक मार्गबाट धादिङबेंसी जोडियो : साना सवारी सञ्चालनमा

धादिङ, १४ भदौ । रसुवाको भोटेकोशी बाढीले फुर्के खोलाको पुल बगाएपछि सडक सम्पर्क विच्छेद भएको धादिङको सदरमुकाम धादिङबेंसीलाई वैकल्पिक मार्गमार्फत पुनः जोडिएको छ । बाढीले पुल ‘वास आउट’ गरेपछि ठप्प बनेको यातायात सेवालाई मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट सञ्चालनमा ल्याइएको हो ।

सङ्घीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका प्रमुख सञ्जय नेपालका अनुसार पुल बगेसँगै सदरमुकाम जाने मुख्य बाटो अवरुद्ध भएपछि तत्काल वैकल्पिक सडक खुलाउने प्रयास थालिएको थियो । शुक्रबारदेखि नै दुईवटा मेसिन र प्राविधिक टोली परिचालन गरी वैकल्पिक ट्रयाक तयार पारिएको हो ।

प्रमुख नेपालले हालका लागि साना सवारी साधनहरू धादिङबेंसीसम्म पुग्न सक्ने गरी सडक सम्पर्क स्थापित भएको जानकारी दिनुभयो । “हामीले मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीको पुल प्रयोग गरेर वैकल्पिक मार्ग तयार गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले मोटामोटी रूपमा काम सम्पन्न भई साना गाडी चल्न थालेका छन् ।”

ठूला सवारी साधन समेत सञ्चालन गर्न सक्ने बनाउन सडकको लेदो र हिलो पन्छाउने कार्य जारी छ । बाढीले क्षति पुर्‍याएका र हिलो भरिएका खण्डहरूमा ग्राभेल राख्ने काम भइरहेको सडक विभागले जनाएको छ । खोल्सी तथा पानी बग्ने स्थानमा ढुङ्गा मिलाएर सवारी साधन पार गर्न सक्ने बनाइएको छ ।

सडक डिभिजन नुवाकोटका प्राविधिक टोली र उपकरणहरू क्षतिग्रस्त स्थानमा खटिएका छन् । लेदो धेरै भएको स्थानमा सवारी चलाउन केही कठिनाइ भए पनि आवश्यक स्थानमा अस्थायी संरचना र ग्राभेलिङ गरेर छिट्टै सबै प्रकारका सवारी साधनका लागि सडक सहज बनाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *