सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५०० ले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ, १४ भदौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदीको मूल्यमा भारि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सुन प्रतितोला हालसम्मकै उच्च बिन्दु नजिक ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । एकैदिन ९ हजार ५०० रुपैयाँको यो गिरावट पछिल्लो समयकै ठुलो मध्येको एक हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ । आइतबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र विशेषगरी होर्मुज जलमार्गको गतिरोधका कारण सुनको मूल्य एक सातामै १५ हजार रुपैयाँभन्दा बढीले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही सुस्त भएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूले बताएका छन् ।