त्रिशूलीमा फेरि बाढीले धादिङ र गोरखा जोड्ने चरौंदी पुल बगायो

काठमाडाैं, १४ भदौ । त्रिशूली नदीमा आइतबार बिहान आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने महत्वपूर्ण चरौंदी झोलुङ्गे पुल बगाएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी र गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोकलाई जोड्ने यो पुल बाढीको तीव्र बहावले गर्दा जगैदेखि उखलेर बगाएको हो।

पुल बगाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ, जसमा त्रिशूलीको उर्लँदो बाढीले पुलको संरचनालाई तानेर लगेको देखिन्छ। पुल भत्किएसँगै दुई जिल्लाका स्थानीय बासिन्दाहरूलाई नदी वारपार गर्न र दैनिक सामग्री ढुवानीमा ठुलो समस्या पैदा भएको छ।

गत भदौ १० गतेको विनाशकारी बाढीको केही दिनपछि पुनः आएको यस बाढीले तटीय क्षेत्रका अन्य भौतिक संरचनाहरूमा समेत व्यापक क्षति पुर्‍याएको छ। त्रिशूलीको जलसतह अझै पनि उच्च रहेकाले नदी किनारका बस्तीहरूमा त्रास कायमै छ।

पुलको अभावमा स्थानीय बासिन्दाहरू अब लामो बाटो घुमेर जानुपर्ने वा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा परेका छन्। स्थानीय प्रशासनले नदीको बहाव नघटेसम्म तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *