बाढीले चीनमा १०४ नेपालीसहित २६१ विदेशी बेपत्ता, १६ जनाको मृत्यु
काठमाडौँ, १४ भदौ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा आएको भीषण लेदोसहितको बाढी र पहिरोका कारण ठुलो मानवीय क्षति भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ भने १०४ नेपाली नागरिकसहित २३ देशका २६१ विदेशी नागरिकहरू सम्पर्कविहीन भएका छन् ।
तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बेपत्ता हुने विदेशी नागरिकहरूमा नेपालीको सङ्ख्या सबैभन्दा उच्च छ । हालसम्म १०४ जना नेपाली सम्पर्कविहीन छन् । यसै गरी ४९ भारतीय, ३३ लाटभियन, १८ अमेरिकी र १५ बेलायती नागरिक पनि बेपत्ता रहेको चिनियाँ पक्षले जनाएको छ । चीनले यसबारे सम्बन्धित देशका कूटनीतिक नियोगहरूलाई औपचारिक जानकारी गराइसकेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार जलवायु परिवर्तनका कारण हिमनदीमा आएको अस्थिरताले यो भयानक विपत्ति निम्त्याएको हो । चिनियाँ वैज्ञानिकहरूका अनुसार लेदोसहितको बाढी र पहिरो गिरोङ (केरुङ) सीमा नाकासम्म आइपुग्न मात्र ६ देखि ७ मिनेट लागेको थियो, जसका कारण मानिसहरूले सुरक्षित स्थानमा जाने समय नै पाएनन् ।
रोयटर्सका अनुसार चीन सरकारले उद्धारका लागि २ हजार १०० भन्दा बढी आपत्कालीन उद्धारकर्मी परिचालन गरेको छ । प्रभावित क्षेत्रका लागि २२० मिलियन युआन (करिब ३ करोड २७ लाख अमेरिकी डलर) बराबरको राहत प्याकेज घोषणा गरिएको छ ।
यसका साथै चीनले बाढी प्रभावित नेपाललाई पनि विशेष सहयोग उपलब्ध गराइरहेको छ । चीनले नेपालका लागि आपत्कालीन नगद सहायता, राहत सामग्री, भू-उपग्रह र जलविज्ञान सम्बन्धी तथ्याङ्कका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली समेत पठाइसकेको छ ।
