साफ महिला फुटसलमा नेपालको ऐतिहासिक जित
काठमाडौँ, माघ १ गते । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले बिहिबार माल्दिभ्सलाई ५–० ले हराएको छ ।
नेपालको महिला फुटसल टिमको यो पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हो । माल्दिभ्सविरुद्धको जित नेपाली महिला फुटसलले अन्तर्राष्ट्रिय खेलमा प्राप्त गरेको पहिलो जित भएको छ । यसअघि, नेपालले पहिलो खेलमा श्रीलङ्कासँग २–२ ले बराबरीमा खेलेको थियो ।
थाइल्याण्डको बैंककस्थित नन्थाबरी रङगशालामा भएको खेलमा नेपालका लागि जेनिफर राना मगरले दुई तथा मनिषा थापा मगर र विमला चौधरीले एक–एक गोल गरे । खेल सकिनै लाग्दा माल्दिभ्सकी फतिमाले आत्मघाती गोल गरेपछि नेपाल ५–० ले विजयी भएको हा । माल्दिभ्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भारतले माल्दिभ्सलाई ११–१ ले हराएको थियो । भारत बिहिबार भने बङगलादेशसँग ३–१ ले स्तब्ध भएको थयो । बङगलादेशका लागि कप्तान सविना खातुनले दुई तथा सुमाया मात्सुसिमाले एक गोल गर्नुभयो । भारतकी आर्याले गरेको गोल सान्त्वना मात्र बन्यो ।
नेपालको पुरुष फुटसल टिमले शुक्रबार श्रीलङ्कावरुद्ध खेलेर प्रतियोगताको सुरुआत गर्नेछ । साफ पुरुष र महिला दुवै वर्गमा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको छ । राउन्ड रोविनको आधारमा भइरहेको प्रतियोगितामा अङ्क तालिकामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।