‘भूकम्पले होइन, कमजोर संरचनाले ज्यान लिन्छ’ : भवन संहिता पालनामा सरकारको जोड
काठमाडौँ, माघ २ । भूकम्प आफैँमा विनाशकारी नहुने तर मानवीय लापरबाही र कमजोर भौतिक संरचनाका कारण ठूलो जनधनको क्षति हुने भन्दै सरकारले भवन निर्माण संहिताको अनिवार्य पालना गर्न आह्वान गरेको छ । २८औँ भूकम्प सुरक्षा दिवस २०८२ का अवसरमा आज काठमाडौँको खुला मञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री तथा विज्ञहरूले सुरक्षित पूर्वाधार नै भूकम्पीय जोखिम न्यूनीकरणको मुख्य आधार भएको बताएका छन् ।
‘सबै तहका सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको यस वर्षको दिवसमा विपद् व्यवस्थापनलाई विकासको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिइएको छ ।
‘भूकम्प उत्थानशील नेपाल’ निर्माणका लागि साझा संकल्प
समारोहका प्रमुख अतिथि एवं गृहमन्त्री ओमप्रकाश अर्यालले विपद्का समयमा हुने क्षति कम गर्न शासकीय पद्धतिमा सुधार र एकीकृत प्रतिकार्य संयन्त्रको विकास भइरहेको बताउनुभयो । “प्रकोपले हाम्रो सामाजिक र आर्थिक संरचनामा गहिरो असर पार्छ,” मन्त्री अर्यालले भन्नुभयो, “विगतका अनुभवबाट सिक्दै विपद् प्रतिकार्य संयन्त्रलाई थप परिष्कृत र विस्तार गर्न सरकार प्रतिबद्ध छ ।”
सहरी विकास, भूमि व्यवस्था तथा सहकारी मन्त्री प्रा. डा. कुमार इङ्नामले दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी यसको समीक्षाबाट प्राप्त तथ्यलाई समुदायको क्षमता अभिवृद्धिमा लगाउनुपर्ने धारणा राख्नुभयो । यस्तै, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रचलित कानुन, मापदण्ड र रैथाने सीपको समायोजनबाट मात्र उत्थानशील सहर निर्माण सम्भव हुने उल्लेख गर्नुभयो ।
मूल समारोहमा वि.सं. १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झना गरिएको थियो । उक्त भूकम्पमा परी नेपालभर ८ हजार ५१९ जनाले ज्यान गुमाएका थिए । कार्यक्रममा २०४५, २०७२ र हालैका वर्षमा डोटी तथा जाजरकोटमा गएका भूकम्पले पुर्याएको क्षतिको स्मरण गर्दै सुरक्षित बस्ती निर्माणको संकल्प दोहोर्याइएको छ ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट, एनसेटका अध्यक्ष आमोदमणि दीक्षित लगायतले सुरक्षित संरचना निर्माणका लागि बहुपक्षीय सहकार्य र प्राविधिक सचेतना आवश्यक रहेको बताउनुभयो ।
भूकम्प सुरक्षा दिवसका अवसरमा आज र भोलि दुई दिन खुला मञ्चमा विपद् पूर्वतयारी, खोज तथा उद्धारका उपकरण र प्रविधिको प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा सरकारी निकाय, सुरक्षा फौज र गैरसरकारी संस्थाका २४ वटा स्टलहरू रहेका छन् ।
यसअघि आज बिहान काठमाडौँ महानगरपालिकाको आयोजनामा न्युरोडस्थित भूगोल पार्कमा ‘भूकम्प स्मृति सभा’ आयोजना गरिएको थियो । वि.सं. २०५५ देखि मनाउन थालिएको यो दिवसले नयाँ पुस्तालाई सुरक्षित निर्माण र विपद् पूर्वतयारीका लागि सजग गराउँदै आएको छ । विशेषज्ञहरूका अनुसार २०७२ सालको गोरखा भूकम्पपछि भवन संहिता कार्यान्वयनमा केही सुधार आए पनि ग्रामीण भेगका संरचनाहरू अझै पनि उच्च जोखिममा रहेका छन् ।
