म्याग्दी प्रशासनको निर्देशन– ‘माघ २० भित्र इजाजत प्राप्त हतियार बुझाउनुस्’
म्याग्दी, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सक्रियता बढाएको छ । प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्लाका नागरिकहरूसँग रहेका इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन जारी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार आगामी माघ २० गतेभित्र जिल्लावासीले आफूसँग भएका इजाजत प्राप्त हतियार र त्यसमा प्रयोग हुने गोलीगट्ठा अनिवार्य रूपमा बुझाउनुपर्नेछ । यस्ता हतियारहरू जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकीमा बुझाउन सकिनेछ । निर्वाचन सकिएपछि ती हतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीको सदरमुकाम बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई उम्मेदवारहरूको मनोनयन दर्ता समेत भइसकेको छ । निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्ना, कर्मचारी खटाउने, सुरक्षा योजना निर्माण र आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने काम तीव्र गतिमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रशासनले निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै इजाजत प्राप्त हतियार संकलन गर्ने कार्यलाई प्राथमिकता दिएको हो । निर्देशन पालना नगर्नेमाथि कानुन बमोजिम कारबाही हुने समेत सचेत गराइएको छ ।