‘भ्रम चिर्नुस् र प्रत्येक मतदाताको घरदैलोमा पुग्नुस्’: कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन
झापा, ९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीका लागि सम्पूर्ण पार्टी पंक्तिलाई जनताको घरदैलोमा पुग्न र मतदातासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिनुभएको छ।
झापा क्षेत्र नं. ५ को क्षेत्रीय समन्वय कमिटीद्वारा आयोजित विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन प्रचारलाई थप प्रभावकारी बनाउन ‘हरेक मतदातासँग सिधा सम्पर्क’ को रणनीति अपनाउन आग्रह गर्नुभयो। उहाँले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कार्यहरू नै निर्वाचन जित्ने मुख्य आधार भएको दाबी गर्नुभयो।
आफ्नो निर्वाचन क्षेत्रको उदाहरण दिँदै अध्यक्ष ओलीले विगत र वर्तमानको तुलना गर्नुभयो। “म पहिलो पटक यस क्षेत्रमा निर्वाचन लड्न आउँदाको स्थिति र अहिलेको अवस्थामा आकाश–जमिनको फरक छ,” उहाँले भन्नुभयो, “पहिले पिच सडक हेर्न राजमार्ग पुग्नुपर्ने अवस्था थियो, अहिले गाउँ–टोलमै पिच सडक पुगेको छ। यो एमालेको नेतृत्वले गरेको विकास हो। जनतालाई यसबारे पुनः स्मरण गराउनु आवश्यक छ।”
अध्यक्ष ओलीले विपक्षी दलहरूले एमालेविरुद्ध भ्रम छर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसको कडा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो। गत भदौ २३ र २४ गतेका घटनाहरूबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “नवयुवाहरूले सुरु गरेको आन्दोलन र उनीहरूका माग नाजायज थिएनन्, तर पछिल्लो समय भएको घुसपैठले देशमा तहसनहस ल्याउने प्रयास गर्यो। ती घटना देखाएर एमालेलाई दोषी देखाउन खोजिँदैछ, यस्ता आधारहीन कुराहरूको प्रतिवाद गरी सत्यतथ्य जनतामाझ लैजानुस्।”
योजनाबद्ध रूपमा प्रचारमा जुट्न निर्देशन दिँदै उहाँले निर्वाचन प्रचारमा कुनै पनि कसर बाँकी नराख्न आग्रह गर्नुभयो। बैठकमा एमालेका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू र पालिका तहका नेताहरूको उपस्थिति रहेको थियो। बैठकले निर्वाचनलाई लक्षित गरी टोलस्तरसम्म परिचालन हुने गरी विशेष योजना समेत निर्माण गरेको जनाइएको छ।