दक्षिण अफ्रिकाको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते
एजेन्सी, २६ साउन । दक्षिण अफ्रिकाको रुस्टनबर्ग सहरनजिकै रहेको एक प्रयोगविहीन खानीमा चट्टान खस्दा कम्तीमा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएका छन्।
जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा अवस्थित रुस्टनबर्गमा मंगलबार सो दुर्घटना भएको हो। प्रान्तीय प्रहरी प्रवक्ता कर्नल एडेले माइबर्गका अनुसार घटनास्थलमा प्रहरी तथा उद्धार टोली खटिएका छन्। मृतकमध्ये अधिकांशको पहिचान तथा राष्ट्रियता खुल्न बाँकी रहेको उहाँले बताउनुभयो।
दक्षिण अफ्रिकामा ‘जामा जामा’ भनेर चिनिने हजारौँ दर्ताविहीन र अनधिकृत खानी मजदुरहरूले यस्ता प्रयोगविहीन र परित्यक्त खानीहरूमा लुकीछिपी सुन तथा अन्य बहुमूल्य खनिजको खोजी गर्ने गर्छन्। उनीहरूले अत्यन्त जीर्ण र असुरक्षित अवस्थामा खानीभित्र प्रवेश गरी उत्खनन गर्ने गरेका छन्। गरिबी र बेरोजगारीका कारण दक्षिणी अफ्रिकाका विभिन्न छिमेकी देशहरूबाट आएका नागरिकहरू यस्तो जोखिमपूर्ण काममा संलग्न हुने गरेको पाइन्छ।
प्रहरी प्रवक्ता माइबर्गले जीर्ण अवस्थामा रहेका प्रयोगविहीन खानीका शाफ्टहरू सुरक्षाका दृष्टिकोणले अत्यन्तै असुरक्षित हुने र भौतिक संरचना कमजोर भएका कारण चट्टान खस्ने जोखिम उच्च रहने बताउनुभयो। “उनीहरू प्रयोगविहीन खानीको शाफ्टमा प्रवेश गर्छन्, जहाँको संरचना जीर्ण हुन्छ, कुनै भौतिक पूर्वाधार हुँदैन र सुरक्षाका न्यूनतम उपायसमेत अपनाइएका हुँदैनन्,” उहाँले भन्नुभयो।
दक्षिण अफ्रिकामा यस्ता परित्यक्त खानीहरूमा अनधिकृत रूपमा गरिने उत्खननका घटनाहरू सुरक्षा र कानुनी दृष्टिकोणले लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन्।