नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ११ करोड नाघ्यो

काठमाडौँ, २७ साउन । धितोपत्र बजारमा लगातार तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.७९ अङ्कले बढेर २,६४१.८५ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.८५ अङ्क, फ्लोट इण्डेक्स ०.१७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अङ्कले बढेको छ। नेप्से परिसूचकसँगै आज सेयर कारोबार रकममा पनि सुधार देखिएको छ।

अघिल्लो कारोबार दिन सोमबार रु ३ अर्ब ६७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३४० कम्पनीको ५२ हजार ७३ पटकको कारोबारमा रु ४ अर्ब ११ करोड ९ लाख ७४ हजार बराबरको ९५ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु ५६.९० ले बढेर प्रतिकित्ता रु ४३६.६० मा अन्तिम कारोबार भएको छ। अन्य मूल्य बढेका कम्पनीहरूको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। यता, महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सर्वाधिक १४.९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज पनि सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ४४ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावर कम्पनीको रु साढे ३३ करोड र ङादी ग्रुप पावरको करिब रु १८ करोडको सेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अङ्कले बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *