संसद्मा प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति अभिलेखबाट हटाउन माग कायमै

काठमाडौँ, २६ साउन । प्रतिनिधि सभाका सांसदहरूले गत जेठ १७ गते संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउन तथा संसद्को आधिकारिक अभिलेखबाट हटाउन माग गरेका छन्।

मंगलबारको बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्न समय दिनुभएको थियो।

नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय मर्यादा विपरीत रहेको भन्दै तत्काल सच्याउन माग गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई यसबारे स्पष्टीकरण लिन सभामुखको ध्यानाकर्षण गराउनुभयो।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्मा र श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले संसद्को गरिमा र सांसदहरूको न्यायोचित मागलाई बेवास्ता गरेको आरोप लगाउँदै उहाँ संसद्प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले कालापानी, लिपुलेक तथा समग्र सीमा विवादबारे सरकारको स्पष्ट दृष्टिकोण र समस्या समाधानको ठोस मार्गचित्र सदनसमक्ष प्रस्तुत गर्न माग गर्नुभयो।

नेकपा (एमाले) का सांसद चन्देश्वर मण्डलले सुनसरी र सिरहामा भएका घटनामा बल प्रयोग गरी गोली चलाउनुपर्ने अवस्था नरहेको जिकिर गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो। उहाँले सरकारले महँगी, कृत्रिम अभाव, सुकुम्वासी समस्या, राहदानी तथा विद्युत् महसुल लगायतका जनसरोकारका विषयमा प्रभावकारी समाधान दिन नसकेको आरोप लगाउनुभयो।