प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूको उठेर विरोध, प्रधानमन्त्रीको प्रष्टीकरण माग

काठमाडौँ, २६ साउन । प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर संसद् अवरोधको सङ्केत गरेका थिए।

गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले ‘भारतको भूमि नेपालले मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद्मा विरोध गर्दै आएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे संसद्मा उपस्थित भई प्रष्टीकरण दिनुपर्ने वा उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुपर्ने माग राख्दै आएका छन्। तर, हालसम्म न प्रधानमन्त्रीले यसबारे संसद्मा स्पष्टीकरण दिनुभएको छ, न त सभामुख अर्यालले उक्त अभिव्यक्तिलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन नै दिनुभएको छ। माग सुनुवाइ नभएपछि विपक्षीहरूले संसद् सुरु हुनासाथ उभिएर विरोध गर्ने रणनीतिलाई निरन्तरता दिएका हुन्।