भक्तपुर–२ मा राप्रपाले चुनावी अभियान सुरू गर्दै जित निकाल्ने उद्घोष
भक्तपुर, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भक्तपुरमा आफ्नो मुख्य प्रतिस्पर्धा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग हुने दाबी गरेको छ । शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका उम्मेदवारहरूले नेमकिपाको पकड क्षेत्रमा आफूहरूले कडा टक्कर दिने र जित निकाल्ने उद्घोष गरेका हुन् ।
भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार अधिवक्ता विक्रम थापाले यसपटक कांग्रेस र एमालेको मत घट्ने दाबी गर्नुभयो । “भक्तपुर–२ मा कांग्रेस र एमालेको भोट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काट्ने प्रस्ट छ,” थापाले भन्नुभयो, “तीन पक्षबीचको तानातानमा नेमकिपाको स्थिर भोट र हाम्रो बढ्दो लोकप्रियताका कारण राप्रपाले विजय निकाल्नेछ ।”
उहाँले थप्नुभयो, “अवस्था बदल्न व्यवस्था बदल्नु अनिवार्य छ । त्यसैले हामीले राजतन्त्रको पुनःस्थापना र सङ्घीयता खारेजीको एजेण्डा बोकेका छौँ ।”
भ्रष्टाचार विरुद्ध कडा रूपमा प्रस्तुत हुँदै थापाले अन्य पार्टीका उम्मेदवारहरूलाई नैतिकताको चुनौती दिनुभएको छ । “हाम्रो उम्मेदवारी सुशासनका लागि हो । घुस खानु भनेको आमाको रगत खानु सरह हो,” उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलन अघि राप्रपाका उम्मेदवारहरूले धार्मिक विधिपूर्वक चुनावी अभियान सुरु गरेका थिए । भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार भरतबहादुर खड्का र क्षेत्र नं. २ का उम्मेदवार विक्रम थापाले कौशलटारस्थित कुशल भैरव मन्दिरमा पूजाआजा गरी ‘घुस नखाने’ प्रतिबद्धता जनाएका थिए ।
पूजापछि काैशलटारबाट सुरु भएको चुनावी र्याली विभिन्न क्षेत्रको परिक्रमा गरी प्रचारप्रसार सम्पर्क कार्यालय पुगेर सभामा परिणत भएको थियो ।
मध्यपुर थिमि–३ का राप्रपा समर्थकहरूद्वारा आयोजित सो कार्यक्रमले स्थानीय स्तरमा पार्टीको उत्साह बढाएको आयोजकको दाबी छ ।