प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थीको लर्को : सुर्खेतबाट १२ जना पक्राउ, गिरोहको खोजी हुँदै
कर्णाली, १८ माघ । लोक सेवा आयोगको कार्यालय सुर्खेतले सञ्चालन गरेको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको परीक्षामा अर्कैको नाममा परीक्षा दिइरहेका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज (आइतबार) पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हाे।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सक्कली परीक्षार्थीको सट्टामा परीक्षा दिनका लागि नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर फेरेर कीर्ते गरेका थिए । परीक्षा हलमा शङ्का लागेर चेकजाँच गर्दा उनीहरू नक्कली परीक्षार्थी भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूको नामावली:
१. केशव थापा (१९ वर्ष): छेडागाड–११, जाजरकोट
२. चन्द्र शाह (१९ वर्ष): छेडागाड–१०, जाजरकोट
३. विपेश सिंह (१९ वर्ष): कुसे–२, जाजरकोट
४. सूर्यकिरण शाही (१८ वर्ष): कुसे–२, जाजरकोट
५. निरज शाही (२१ वर्ष): कुसे–२, जाजरकोट
६. नवराज विक (२३ वर्ष): कुसे–२, जाजरकोट
७. पूर्णबहादुर सिंह (२६ वर्ष): कुसे–२, जाजरकोट (हाल: वीरेन्द्रनगर)
८. ललित रावल (१८ वर्ष): जुनीचाँदे–१, जाजरकोट
९. रमेश नेपाली (१८ वर्ष): दुल्लु–१, दैलेख
१०. वीरबहादुर ठाडा (२४ वर्ष): गुर्भाकोट–१३, सुर्खेत
११. रामु कार्की (२४ वर्ष): बैजनाथ–२, बाँके
१२. मोतिलाल थारू (२५ वर्ष): बैजनाथ–१, बाँके
प्रहरीले यति ठूलो सङ्ख्यामा नक्कली परीक्षार्थी परिचालन हुनुमा कुनै ठूलो गिरोहको हात हुन सक्ने आशङ्का गरेको छ । “हामी यसको जडसम्म पुग्न अनुसन्धान गरिरहेका छौँ, अन्य संलग्नहरूको खोजी भइरहेको छ,” डीएसपी बुढ्थापाले भन्नुभयो ।
पक्राउ परेका १२ जनामाथि लिखत कीर्ते तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीमा भर्ना हुनका लागि अपनाइएको यो अवैध बाटोले सुरक्षा निकायको छनोट प्रक्रियामाथि समेत चुनौती थपेको छ ।