निर्वाचनमा प्रचारप्रसार अघि घोषणापत्र अनिवार्य : फागुन ४ देखि सुरु हुँदैछ प्रचार, तर दलहरू अझै मौन
काठमाडौँ, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्रिने राजनीतिक दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार सुरु गर्नुअघि अनिवार्य रूपमा आफ्नो घोषणापत्र सार्वजनिक गर्नुपर्ने भएको छ । ‘निर्वाचन आचारसंहिता, २०८२’ ले प्रचारप्रसारका लागि घोषणापत्रलाई मुख्य आधार बनाउनुपर्ने व्यवस्था गरेको हो ।
आचारसंहिताको दफा ३७ अनुसार, कुनै पनि दल वा उम्मेदवारले मतदातामाझ जानुअघि आफ्नो प्रतिबद्धता पत्र वा घोषणापत्र सार्वजनिक गरी सोही आधारमा मात्रै मत माग्न पाउनेछन् ।
निर्वाचन आयोगले आगामी फागुन ४ गतेदेखि औपचारिक रूपमा निर्वाचन प्रचारप्रसार खुला गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर, प्रचारप्रसार सुरु हुन केही दिन मात्र बाँकी रहँदा हालसम्म कुनै पनि राजनीतिक दलले आयोगमा आफ्नो घोषणापत्र बुझाएका छैनन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजसम्म कुनै पनि दल वा उम्मेदवारले यस्तो दस्तावेज पेस गरेका छैनन् । “आचारसंहिता अनुसार राजनीतिक दलले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा घोषणापत्र पेस गर्नुपर्ने हुन्छ,” जिसीले जानकारी दिनुभयो ।
यसपटकको आचारसंहितामा घोषणापत्रलाई केवल चुनावी नारामा मात्र सीमित हुन नदिन नयाँ व्यवस्था गरिएको छ । निर्वाचनमा विजयी भएपछि राजनीतिक दल वा उम्मेदवारले आफ्नो घोषणापत्रमा उल्लेख गरिएका कामहरूको वार्षिक कार्यप्रगति प्रतिवेदन तयार पारी सर्वसाधारणका लागि सार्वजनिक गर्नुपर्नेछ ।
यो व्यवस्थाले दलहरूलाई आफ्ना प्रतिबद्धताप्रति जवाफदेही बनाउने र मतदाताले आफ्ना प्रतिनिधिले कति काम गरे भन्ने कुराको सहजै मूल्याङ्कन गर्न सक्ने विश्वास निर्वाचन आयोगले लिएको छ । आयोगले सबै दल र उम्मेदवारहरूलाई समयमै घोषणापत्र सार्वजनिक गरी आचारसंहिताको पालना गर्न आग्रह गरेको छ ।