प्रतिनिधिसभा निर्वाचन : ९ प्रकारका सामग्री केन्द्रबाट पठाइने, ३७ प्रकारका जिल्लामै व्यवस्थापन गरिने
काठमाडौँ, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
आयोगले निर्वाचनमा प्रयोग हुने मुख्य नौ प्रकारका सामग्री केन्द्रबाटै पठाउने र अन्य ३७ प्रकारका सामग्री जिल्लास्तरमै व्यवस्थापन गर्ने तयारी गरेको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनको संवेदनशीलता र एकरूपताका लागि विशेष सामग्रीहरू केन्द्रबाट उपलब्ध गराइनेछ।
केन्द्रबाट पठाइने ९ प्रकारका सामग्रीहरू:
आयोगले प्रत्येक निर्वाचन क्षेत्रका मतदान केन्द्रका लागि केन्द्रबाटै पठाउने सामग्रीहरूमा सुरक्षणशील (Security Seals), छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टिकर रहेका छन्। यी सामग्रीहरू मतदानको सुरक्षा र वैधताका लागि अनिवार्य मानिन्छन्।
जिल्लामा व्यवस्थापन गरिने ३७ प्रकारका सामग्रीहरू:
बढी तौल भएका र स्थानीय बजारमा सहज उपलब्ध हुने ३७ प्रकारका सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयहरूले नै खरिद तथा व्यवस्थापन गर्नेछन्। जसमा सिलिङ बक्स, अनुसूची फारम, डायरी (पोल बुक), मार्कर पेन, स्केल, स्ट्यापलर मेसिन, कैँची, ग्लुस्टिक, पञ्चिङ मेसिन र परिचयपत्र होल्डर रहेका छन्।
यसैगरी, मतदाताको लिङ्ग पहिचान गर्ने कार्डहरू, मतदाता क्रमसङ्ख्या कार्ड, प्लास्टिक झोला, बोरा, सुतली, प्याकिङ टेप, विभिन्न साइजका खामहरू, ए४ पेपर, रेकर्ड फाइल, सियो-धागो, मैनबत्ती, सलाइ र कपडाका टुक्राहरू पनि जिल्लामै व्यवस्थापन गरिने सामग्रीको सूचीमा राखिएको छ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सामग्री व्यवस्थापनको कामलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ। निर्वाचन सामग्रीको समयमै आपूर्ति सुनिश्चित गर्न ढुवानी र भण्डारणको समेत उचित प्रबन्ध मिलाइएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो।