अख्तियार प्रमुखसहित उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट काठमाडौँ ल्याइयाे

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट पक्राउ गरेर नेपाल ल्याएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त प्रयासमा उनलाई पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार पाठकलाई लिन प्रहरीको एउटा टोली फिलिपिन्स गएको थियो । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको हो ।

पाठकले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ अधिकारीहरूलाई ‘अल्टिमेटम’ दिँदै ज्यान मार्ने धम्की दिएका थिए । उनले गत भदौ २४ गते कारागारबाट भागेका कैदीहरूलाई ‘सुपारी’ दिएर हत्या गर्ने भन्दै सामाजिक सञ्जाल र अन्य माध्यमबाट धम्कीपूर्ण सन्देश पठाएका थिए ।

धम्कीपछि प्रहरीले गरेको प्राविधिक अनुसन्धानका क्रममा पाठक फिलिपिन्समा रहेको खुलेको थियो । त्यसपछि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले डिसेम्बर १२ मा उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेका उनलाई डिसेम्बर ३१ मा फिलिपिन्सको मालोलस सिटीबाट त्यहाँको ‘ब्युरो अफ इमिग्रेसन’ को फ्युजिटिभ सर्च युनिट र स्थानीय प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल ल्याइएका पाठकमाथि अब थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।