गणेशको आत्मदाहले उब्जाएका प्रश्नहरु

काठमाडौं, असार २६ । मुगुका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाह गरेको घटनाबारे अहिले सामाजिक सञ्जालमा विभिन्न खाले चर्चा चलिरहेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर उनले आत्मदाहको प्रयास गरेका थिए ।

बिहीबार आत्मदाहको प्रयास गरेका उनको आज निधन भएको छ । अहिले उनको निधनको विषयलाई लिएर फरक फरक धारणा बाहिर आएका छन् । उनी कसरी आत्मदाह गर्ने अवस्थामा पुगने भन्ने विषयलाई लिएर पनि विभिन्न अड्कलबाजी सुरु भएका छन् । उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीसँग केहीबेर विवाद गरेको घटनाहरु पनि सार्वजनिक भएका छन् । परिवारसहित बस्दै आएका उनले सामान्य विवादकै कारण मात्रै आत्मदाह गर्ने प्रयास गरे भनिहाल्ने अवस्था पनि देखिन्न ।

मुगुको सोरू गाउँपालिका–१ का गणेश तीन वर्षदेखि काठमाडौंमा राइड सेयरिङ चालकको काम गरिरहेको पत्ता लागेको छ । कृषि प्राविधिक पढेका नेपालीले भर्खरै किस्तामा नयाँ बाइक किनेको पनि पत्ता लागेको छ । एकातिर नयाँ बाइकको किस्ता तिर्नुपर्ने चिन्ता अर्कोतर्फ ह्विल लक हुँदा चर्को जरिवानाको तिनुैपर्ने मनोवैज्ञानिक असरका कारण पनि उनले अप्रियबाटो रोजेको हुनसक्ने अनुमान पनि गरिएको छ । यद्यपि, अहिले पनि उनले किन मृत्युको बाटो रोजे भन्ने विषयमा छानविन हुने चरणमै छ ।

धेरै कुरा त छानविनले पनि पत्ता लगाउला । तर, नेपालमै केही गर्छु भन्ने आशा बोकेका युवाहरुको यो मृत्यु अवश्य पनि सकारात्मक सन्देश होइन । यस्ता कुरामा राज्यले थप जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ ।
काठमाडौंमा मुगुका गणेश नेपालीको आत्मदाहपछि मृत्यु भएको खवर सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिकामा पनि विवेक मण्डलले आत्मदाह प्रयास गरेको समाचार आएको छ। ३५ वर्षीय मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मण्डलको पनि अधिकांश शरीर जलिसकेको छ । मण्डललाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जानकारी दिएको छ । यसरी एकपछि अर्को घटनाले राज्य अझै थप जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश दिएको छ ।