प्रधानसेनापतिको कडा निर्देशन : ‘निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनुहोस्’

काठमाडौँ, २ फागुन । प्रधानसेनापति अशोकराज सिग्देलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिनुभएको छ ।

महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनाले हालसम्म विभिन्न क्षेत्रमा प्राप्त गरेका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पूरा गरेको चर्चा गर्दै आगामी निर्वाचनमा पनि उच्च व्यावसायिकता प्रदर्शन गर्न सकल दर्जालाई आह्वान गर्नुभयो । उहाँले देशको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन सुरक्षा सेनाको महत्त्वपूर्ण कार्यभार रहेको उल्लेख गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानसेनापतिले सेनाको तालिम पद्धतिमा पनि नयाँ मार्गनिर्देशन गर्नुभएको छ । उहाँले नेपालको गौरवमय गाथा, परम्परा र संस्कृतिलाई चिन्न तथा इतिहासका पाठहरूबाट सिक्नका लागि सबै तहका सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसले सैनिकहरूमा राष्ट्रियताको भावना र ऐतिहासिक चेतना थप बलियो बनाउने विश्वास लिइएको छ ।

आजै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले कर्तव्य पालनाको सिलसिलामा ज्यान उत्सर्ग गर्ने वीर सैनिकहरूको सम्मानमा श्रद्धासुमन अर्पण गर्नुभयो ।

त्यसैगरी, उहाँले छाउनीस्थित वीर स्मारक पुगेर वीरगति प्राप्त गरेका सैनिकका परिवारहरूसँग भेटघाट गरी उनीहरूलाई विशेष सम्मान समेत गर्नुभएको निर्देशनालयले जनाएको छ ।
सेना दिवसको अवसरमा नेपाली सेनाले आज देशभर विभिन्न कार्यक्रम गरी उत्सव मनाइरहेको छ ।