निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइ: ६६ उजुरी दर्ता, ३२ उम्मेदवारसँग सोधियो स्पष्टीकरण
काठमाडौँ, ४ फागुन । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सक्रियता बढाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ६६ वटा उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार स्पष्टीकरण सोधिएकामध्ये हालसम्म ३२ जनाले आफ्नो जवाफ बुझाइसकेका छन् । प्राप्त भएका जवाफहरूको अध्ययन भइरहेको र दोषी देखिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो ।
आयोगले आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल र उम्मेदवारका अतिरिक्त सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारहरूलाई समेत निगरानीमा राखेको छ । दर्ता भएका सञ्चारमाध्यम र त्यसमा आबद्ध पत्रकारहरूबाट आचारसंहिता उल्लङ्घन भएको पाइएमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाइएको कानुन अधिकृत जोशीले बताउनुभयो ।
निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्था बमोजिम ७७ वटै जिल्लामा अनुगमन संयन्त्रलाई क्रियाशील बनाइएको छ । जिल्लास्तरमा आचारसंहिता पालनाको सुनिश्चितताका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) लाई अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको छ ।
जिल्लास्तरमा प्राप्त उजुरीहरूमाथि सम्बन्धित निर्वाचन कार्यालय र अनुगमन अधिकृतहरूले तत्काल स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने कार्य गरिरहेका छन् । आयोगले छोटो समयमै सबै जिल्लाका सरोकारवालाहरूलाई आचारसंहिताबारे सचेत गराएको र पालनाका लागि लिखित प्रतिबद्धता समेत गराएको जनाएको छ ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनमार्फत निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आयोगले कुनै कसर बाँकी नराख्ने दाबी गरेको छ ।