त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधन

काठमाडौँ, २६ असार । राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आत्मदाहको प्रयास गरेका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर अवस्थामा वीर अस्पताल भर्ना भएका नेपालीको चिकित्सकीय प्रयासका बाबजुद मृत्यु भएको हो।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार, आगोले नेपालीको अनुहार, टाउको र घाँटी लगायत शरीरका अत्यन्त संवेदनशील र महत्वपूर्ण भागहरूमा गम्भीर क्षति पुर्‍याएको थियो। अस्पताल ल्याउँदा उनको अवस्था ‘क्रिटिकल’ रहेको र श्वासप्रश्वासमा गम्भीर अवरोध देखिएपछि उनलाई तत्काल ‘इन्टुबेसन’ गरी भेन्टिलेटरको सहायतामा राखिएको थियो।

राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।

वीर अस्पतालका चिकित्सकले नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएकाेले शरीरको भित्री अंगहरूमा पनि असर पुगेको बताएका छन् ।