हार्ने निश्चित भएपछि रास्वपाले चुनाव भाँड्न खोज्दैछ : एमाले अध्यक्ष ओली, भन्छन्– ‘वातावरण शान्तिपूर्ण छैन’

झापा, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन भाँड्न खोजेको गम्भीर आरोप लगाउनुभएको छ ।

झापाको भद्रपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले चुनावमा आफ्नो पराजय निश्चित देखेपछि विभिन्न बहानामा मुठभेड र तनाव सिर्जना गर्न खोजेको दाबी गर्नुभएको हो ।

पछिल्ला केही दिनयता भएका घटनाक्रमहरूले रास्वपा लोकतान्त्रिक प्रतिस्पर्धाभन्दा पनि अराजकतातर्फ केन्द्रित भएको ओलीको तर्क छ ।

अध्यक्ष ओलीले रास्वपाले यसपटक चुनाव नजित्ने निष्कर्ष निकालिसकेको टिप्पणी गर्नुभयो । “रास्वपाले चुनाव नजित्ने देखेपछि अनेकन हत्कण्डाहरू प्रयोग गर्न थालेको छ,” ओलीले भन्नुभयो, “अरूको झण्डा जलाउने, नानाथरी बखेडा झिक्ने र असहज परिस्थिति सिर्जना गरेर निर्वाचन भाँड्ने पक्षमा उनीहरू लागेको अनुमान गर्न सकिन्छ ।”

आफ्नो पक्षमा नतिजा आउने भए मात्र चुनाव लड्ने र अर्काको पक्षमा जाने देखिए रोक्न खोज्ने प्रवृत्ति रास्वपामा देखिएको उहाँको आरोप छ ।

निर्वाचन बलजफ्ती गर्ने विषय नभएको उल्लेख गर्दै ओलीले यो नियम र कानुनभित्रको स्वच्छ प्रतिस्पर्धा भएको बताउनुभयो । “निर्वाचन भनेको धाँधलीरहित र निष्पक्ष हुनुपर्छ, मतदाताले निर्भय वातावरणमा आफ्नो स्वेच्छाले मत दिन पाउनुपर्छ,” उहाँले भन्नुभयो, “मतदानदेखि मतगणना र परिणाम घोषणासम्मको सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्नेमा हाम्रो जोड छ ।”

मुलुकको वर्तमान सुरक्षा र राजनीतिक वातावरणप्रति ओलीले संशय व्यक्त गर्नुभएको छ । उहाँका अनुसार अहिले निर्वाचनका लागि पूर्ण रूपमा शान्तिपूर्ण वातावरण बनिसकेको छैन । “अहिलेको वातावरण त्यति शान्तिपूर्ण देखिएको छैन, बरु शान्ति भड्काउन खोजिने प्रयासहरू निकै देखिन्छन्,” उहाँले थप्नुभयो, “निर्वाचनपछि पनि द्वन्द्व कायम रहने स्थिति देखिएकाले द्वन्द्वका कारणहरू पहिले नै समाधान गरेर मात्र निर्वाचनमा जाऔँ भन्ने आवाजहरू पनि सुनिएका छन्, जुन विचारणीय छ ।”

अध्यक्ष ओलीले निर्वाचनलाई मर्यादित र सफल बनाउन सबै राजनीतिक दलहरूले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिनुभयो ।