दाङमा एमालेको झण्डा जलाइएको घटनामा निर्वाचन आयोगले सोध्यो रास्वपालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, ९ फागुन । दाङमा नेकपा (एमाले) को चुनाव चिह्न अङ्कित झण्डा जलाइएको विषयलाई लिएर निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्पष्टीकरण माग गरेको छ। आयोगले शुक्रबार साँझ रास्वपालाई पत्र काट्दै घटनाका सम्बन्धमा २४ घण्टाभित्र आधिकारिक जवाफ पेश गर्न निर्देशन दिएको हो।

गत फागुन ७ गते रास्वपाका सभापति रवि लामिछाने दाङको तुलसीपुर पुगेका बेला तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झण्डामा आगो लगाइएको थियो। निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा एक दलको कार्यक्रमका बीच अर्को दलको झण्डा जलाइएपछि चुनावी वातावरणमा तनाव सिर्जना भएको भन्दै आयोगले यसबारे गम्भीर चासो देखाएको हो।

झण्डा जलाइएको विरोधमा नेकपा एमालेले शुक्रबार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्नुका साथै रास्वपाका नेताहरूको पुतला समेत दहन गरेको थियो। यता, रास्वपाले भने उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ।

यसैबीच, झण्डा जलाएको आरोपमा दाङ प्रहरीले हालसम्म तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरूको राजनीतिक आबद्धता खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

निर्वाचनको मुखमा दलहरूबीच बढ्दै गएको यो टकरावले सुरक्षा चुनौती थपेको छ। निर्वाचन आयोगले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए रास्वपामाथि आचारसंहिता बमोजिम थप कानुनी कारबाही अगाडि बढाउने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *