दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफे ‘उत्कृष्ट राजदूत’ बाट सम्मानित
काठमाडौँ, ११ फागुन । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफे ‘उत्कृष्ट राजदूत सम्मान’ (बेस्ट एम्बेसडर अवार्ड) बाट सम्मानित भएकी छन् । दक्षिण कोरियामा रहेका ११६ देशका कूटनीतिक नियोग प्रमुखहरूमध्ये नेपालसहित तीन देशका राजदूतलाई यो सम्मान प्रदान गरिएको हो ।
सियोलमा ‘कोरिया कन्जुमर ग्लोबल काउन्सिल’द्वारा आयोजित एक विशेष समारोहका बीच डा. तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूतलाई उक्त अवार्ड प्रदान गरिएको सियोलस्थित नेपाली दूतावासले जनाएको छ । उपभोक्ता हित, अन्तर्राष्ट्रिय सहकार्य र आपसी सम्बन्ध प्रवर्द्धनमा पुर्याएको विशेष योगदानको कदर गर्दै आयोजकले उनीहरूलाई यो सम्मान दिएको हो ।
सम्मान ग्रहण गरेपछि राजदूत डा. तुम्बाहाङफेले यो आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली श्रमिक, विद्यार्थी र विभिन्न पेसा–व्यवसायमा संलग्न नेपाली समुदायकै सम्मान भएको बताइन् । यस अवार्डले नेपाल र दक्षिण कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने उनको भनाइ थियो ।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै राजदूत तुम्बाहाङफेले दुई देशबीचको मित्रता र सहकार्य निरन्तर प्रगाढ बन्दै गएको बताइन् । आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक तथा श्रम सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू विस्तार गर्न आफू प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन् ।
उक्त सम्मान कार्यक्रममा विभिन्न देशका कूटनीतिकर्मी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।