इरानी ड्रोन आक्रमणमा यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु: दूतावासद्वारा पहिचान
काठमाडौँ, १८ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा भएको इरानी ड्रोन आक्रमणमा परी ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार उक्त घटनामा गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो ।
अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोनलाई निष्कृय पार्ने क्रममा भएको विष्फोटमा श्रेष्ठको ज्यान गएको दूतावासले जनाएको छ । मृतक श्रेष्ठ त्यहाँको ‘मिडल इस्ट कम्पनी’ मा सुरक्षा गार्ड (सेक्युरिटी गार्ड) का रूपमा कार्यरत थिए । उनको मृत्युबारे यूएईको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराइसकेको छ ।
नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै मृतक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । “अवस्था सहज हुनासाथ श्रेष्ठको पार्थिव शरीर स्वदेश फिर्ता पठाउन र आवश्यक सहजीकरण गर्न दूतावास तत्पर छ,” विज्ञप्तिमा भनिएको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार सो आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ । अन्य मृतकहरूमा बङ्गलादेश र पाकिस्तानका एक–एक जना नागरिक रहेका छन् । आक्रमणमा भारत, इजिप्ट, फिलिपिन्स र इरान लगायतका मुलुकका ५८ जना नागरिक घाइते भएका छन् ।
मध्यपूर्वमा बढ्दो तनाव र युद्धको सम्भावनालाई मध्यनजर गर्दै राजदूतावासले यूएईमा रहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ ।