राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौँ, २५ फागुन । गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित १८ जना सांसदले आज पद तथा गोपनीयताको शपथ गर्दै हुनुहुन्छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि शपथग्रहण समारोह तय भएको छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना हुने समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ।

शपथग्रहण समारोहमा सहभागी हुन सचिवालयले सांसदहरूलाई राष्ट्रिय वा आफ्नो सांस्कृतिक पहिचान झल्कने औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरेको छ। साथै, सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले भने यसअघि नै अनुवादित मस्यौदा सचिवालयमा बुझाइसकेका छन्।