विनियोजन विधेयकमाथि छलफल जारी: पाँच मन्त्रालयको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गर्न प्रस्ताव

काठमाडौँ, २ असार । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथिको दफावार छलफल जारी रहेको छ। आजको बैठकमा विभिन्न दलका सांसदहरूले बजेट विनियोजन असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै विभिन्न पाँचवटा मन्त्रालयको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

बैठकमा सांसद गुरुप्रसाद बरालले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँले माध्यमिक र १० जोड दुई (प्लस टु) तहदेखि नै विज्ञान तथा प्रविधिको गुणस्तरीय अध्ययन अनिवार्य गर्नुपर्नेमा जोड दिँदै हाल विनियोजित करिब ४ अर्ब रुपैयाँको बजेटलाई थप सुदृढ बनाउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो।

सांसद रमेशकुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा खर्च कटौतीको प्रस्ताव राख्दै मुलुकको सङ्क्रमणकालीन न्यायलाई छिटो तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने माग गर्नुभयो। उहाँले कर्णालीका तीनवटा महत्वपूर्ण सडकहरूका लागि पूर्वप्रतिबद्धता विपरीत बजेट पुस्तकमा नाम समावेश नगरिएको भन्दै सरकारको आलोचना गर्नुभयो।

सांसद बलावती शर्माले भौतिक विकासको स्पष्ट खाका बजेटमा नरहेको दाबी गर्दै पूर्वाधार विकास मन्त्रालयको बजेट कटौती गरी एक रुपैयाँ कायम गर्नुपर्ने प्रस्ताव गर्नुभयो। सरकारले देशभर बन्नुपर्ने सडक, विद्यालय र झोलुङ्गे पुल निर्माणमा ध्यान दिन नसकेको आरोप लगाउँदै उहाँले बागलुङको भौतिक पूर्वाधार निर्माणमा आवश्यक बजेट थप्न माग गर्नुभयो।

सांसद विष्णुमाया विकले गृह मन्त्रालयको बजेट घटाएर एक रुपैयाँ कायम गर्ने प्रस्ताव राख्दै लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, साइबर सुरक्षा र धनकुटा लगायत १९ वटा कारागारहरूको भौतिक निर्माणका लागि न्यून बजेट छुट्याइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

सांसद यज्ञबहादुर बोगटीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट शीर्षकमा खर्च कटौतीको प्रस्ताव पेस गर्दै विद्युत् महसुलमा कर लगाएर जनतामाथि थप आर्थिक बोझ लादिएको बताउनुभयो। उहाँले पछाडि पारिएको क्षेत्रको विकासमा बजेटले ध्यान दिन नसकेको र सरकारको घोषित नीति एकातिर तथा वार्षिक कार्यक्रम अर्कातिर भएकाले बजेटमा एकरूपता नदेखिएको टिप्पणी गर्नुभयो।