विपक्षीको अडानपछि प्रतिनिधिसभा बैठकमा ६ मन्त्री उपस्थित

काठमाडौँ, २ असार । विपक्षी दलहरूको विरोध र अडानपछि प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्रीहरू उपस्थित भएका छन् । मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू संसद्‌मा अनुपस्थित भएपछि सभामुखले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक मन्त्रीहरू आएपछि पुनः सुचारु भएको हो।

संसद् सुचारु भएसँगै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी भएका छन् ।

बैठक सुचारु भए पनि प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद राजेन्द्र राईले संसद्‌मा आठवटा मन्त्रालयको बजेटमाथि छलफल भइरहेको अवस्थामा ६ जना मात्रै मन्त्री सहभागी भएको भन्दै पुनः विरोध जनाउनुभएको थियो। उहाँले बाँकी मन्त्रालयका मन्त्रीहरू पनि अनिवार्य उपस्थित हुनुपर्ने अडान राख्नुभयो। तर, सभामुखले बाँकी मन्त्रीहरू पनि संसद् आउने क्रममा रहेको आश्वासन दिनुभएपछि संसद्को नियमित कार्यसूची अगाडि बढेको थियो।