अमेरिका-इरान सम्झौतापछि सामरिक जलमार्ग ‘होर्मुज’ पुनः खुला हुने सङ्केत, कच्चा तेलको मूल्य ५ प्रतिशतले घट्यो

एजेन्सी, २ असार । संयुक्त राज्य अमेरिका र इरानबीच भएको कूटनीतिक सम्झौतापछि विश्वकै महत्त्वपूर्ण इन्धन आपूर्ति मार्ग ‘होर्मुज जलसन्धि’ पुनः सञ्चालनमा आउने बलियो सङ्केत देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबारसम्म उक्त सामरिक जलमार्ग पूर्ण रूपमा खुला हुने घोषणा गर्नुभएको छ। यससँगै मध्यपूर्वको तनाव मत्थर हुने आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच प्रतिशतले घटेको छ भने सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ।

अमेरिका र इरानबीच तीन महिनासम्म चलेको सैन्य द्वन्द्व समाप्त गर्न मध्यस्थकर्ता पाकिस्तानको सक्रियतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ। कतिपय अमेरिकी अधिकारीहरूले सम्झौताको मस्यौदामा विद्युतीय हस्ताक्षर (इलेक्ट्रोनिक सिग्नेचर) भइसकेको बताएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौतामा कुनै पनि अमेरिकी करदाताको पैसा इरानमा नजाने स्पष्ट पार्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) सँगको सहकार्यमा इरानको अत्यधिक समृद्ध युरेनियम भण्डारको अनुगमन र व्यवस्थापन गरिने जानकारी दिनुभयो।

यता इरानी अधिकारीहरूले यस सम्झौतालाई युद्धको ‘तत्काल अन्त्य’ का रूपमा व्याख्या गरेका छन्। इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले दुई महिनाभित्र अन्तिम सम्झौताका लागि थप वार्ता हुने बताउनुभयो भने राष्ट्रपति मसुद पेजेस्कियानले यसलाई क्षेत्रीय स्तरको ठूलो उपलब्धि भन्नुभएको छ।

यद्यपि, इरानी विदेशमन्त्री अब्बास अराघचीले विगतमा कूटनीतिक प्रतिबद्धताहरू पूरा नभएकाले सम्झौताको पूर्ण कार्यान्वयनका सवालमा अझै सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

सम्झौताका विस्तृत सर्तहरू अझै औपचारिक रूपमा सार्वजनिक नगरिए पनि अमेरिकाले विगतमा रोक्का राखेको इरानको करिब १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्ने र इरानका आणविक केन्द्रहरूमा अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई प्रवेश अनुमति दिने विषयमा गम्भीर छलफल भइरहेको बुझिएको छ।

गत फेब्रुअरी महिनामा इरानमाथि भएको अमेरिका-इजरायली हवाई आक्रमणपछि विश्वकै कुल इन्धन आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने होर्मुज जलमार्ग पूर्ण रूपमा ठप्प भएको थियो। यस नाकाबन्दीका कारण कच्चा तेलको मूल्य अकासिएर प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो। होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउँदा विश्व ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको ठहर छ।