धानखेतीको सिजन सुरु भएसँगै कञ्चनपुरमा रासायनिक मल ‘डिएपी’ को अभाव
कञ्चनपुर, २ असार । धानखेतीको मुख्य सिजन सुरु भएसँगै कञ्चनपुर जिल्लामा रासायनिक मल ‘डिएपी’ को अभाव देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका सहकारीहरू मार्फत मल बिक्री वितरण भइरहेको भए पनि किसानहरूको माग अनुरूप डिएपी मल उपलब्ध हुन सकेको छैन।
कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रबन्धक हेमराज जोशीले चालू सिजनमा हालसम्म शाखाबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन युरिया मल बिक्री वितरण भइसकेको जानकारी दिनुभयो। “हामीसँग मौज्दात रहेको मल यहाँका १५० वटा सहकारीहरू मार्फत किसानहरूलाई वितरण गरिरहेका छौँ,” प्रबन्धक जोशीले भन्नुभयो, “तर कञ्चनपुरमा हरेक वर्ष गहुँ र धान खेतीका लागि १०–१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ।”
कम्पनीले हाल अनुदानको डिएपी प्रतिबोरा २ हजार ३९४ र युरिया प्रतिबोरा ९४४ रुपैयाँमा सहकारीहरूलाई बिक्री गरिरहेको छ।
जिल्लामा वार्षिक रूपमा करिब ४०० मेट्रिक टन मल अपुग हुने गरेको कार्यालयको तथ्याङ्क छ। रासायनिक मलको अभाव देशव्यापी समस्या भए पनि सुदूरपश्चिम प्रदेशका लागि सरकारले तोकेको कोटा निकै कम भएकाले कञ्चनपुरका किसानहरू बढी मर्कामा परेका हुन्।
आफ्नै देशमा मल पर्याप्त नहुँदा र धान रोप्ने समय घर्किन लाग्दा कञ्चनपुरका सीमावर्ती क्षेत्रका किसानहरू खुला सीमानाकाको फाइदा उठाउँदै भारतबाट लुकिछिपी फाटफुट रूपमा रासायनिक मल भित्र्याउन बाध्य छन्।