नेप्से परिसूचकमा २४ अङ्कको वृद्धि, साढे १४ अर्बको कारोबार

काठमाडौँ, २८ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजारमा यस दिन भने उत्साहजनक सुधार देखिएको हो ।

बिहीबार नेप्से परिसूचक २३.८७ अङ्कले बढेर २८२०.४४ को बिन्दुमा पुगेको छ । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०१ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स १.९२ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अङ्कले उकालो लागेको छ ।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन बुधबार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार कारोबार रकम साढे १४ अर्ब नाघेको छ ।

यस दिन ३३५ वटा कम्पनीका ४ करोड १६ लाख ८६ हजार कित्ता सेयर १ लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा कुल १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, नेसनल हाइड्रोपावर कम्पनी र होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको मूल्य साढे ९ प्रतिशतले वृद्धि भएको छ । यस दिन घटेका स्टकहरूको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको सर्वाधिक ६७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को करिब ५७ करोड र कुमारी बैंकको साढे ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

उपसमूहगततर्फ हेर्दा बिहीबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने ३ वटाको घटेको छ ।

यस दिन बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले वृद्धि भएको छ । यसका साथै विकास बैंक, वित्त (फाइनान्स), जलविद्युत् र लगानी उपसमूहको परिसूचकमा पनि सुधार आएको छ । यता, होटल तथा पर्यटन, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचकमा भने सामान्य गिरावट देखिएको छ ।