वर्षासँगै काठमाडौंको वायु प्रदूषणमा सुधार, विश्वको दोस्रो प्रदूषित सहरबाट १२औं स्थानमा झर्‍यो

काठमाडौं, २९ फागुन । केही दिनयताको वर्षासँगै काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूको वायु प्रदूषणमा उल्लेखनीय सुधार आएको छ। मौसम धुम्मिँदा ह्वात्तै बढेको प्रदूषण पानी परेपछि पखालिएको हो।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांकअनुसार बिहीबार मध्याह्नसम्म १७८ को हाराहारीमा रहेको काठमाडौंको वायु गुणस्तर सूचकांक शुक्रबार मध्याह्नसम्म घटेर १४९ मा झरेको छ। यससँगै बिहीबार विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं प्रदूषण घटेपछि १२औं स्थानमा पुगेको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षाले हावामा तैरिएका धुलोका कणलाई पखालेका कारण प्रदूषण कम भएको बताए। “वर्षाले हावामा रहेको धुलो तथा प्रदूषणका कणलाई जमिनमा झार्न मद्दत गर्छ, जसले गर्दा हावा स्वच्छ हुन्छ,” उनले भने। महानिर्देशक सुवेदीले दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रण गर्न वातावरणमैत्री विकास निर्माणका काममा जोड दिन सम्बन्धित निकायलाई सुझाव दिएको जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले पनि बिहीबारदेखि मौसममा आएको सुधार र वर्षाका कारण वायुमण्डल सफा भएको बताए।

यद्यपि, वातावरणविद् भूषण तुलाधरले वर्षाले दिएको यो राहत प्राकृतिक र अस्थायी मात्र भएको भन्दै दीर्घकालीन समाधानमा जोड दिएका छन्। उनले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी गर्न, सुकेका पातपतिङ्गरको उचित व्यवस्थापन गर्न, वन डढेलो नियन्त्रण गर्न र सवारीसाधनको धुवाँ परीक्षणमा कडाइ गर्न सुझाव दिए।

मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशको चितवनस्थित नारायणी मापन केन्द्रमा सबैभन्दा धेरै १२६.२ मिलिमिटर वर्षा भएको छ।

यसैगरी, गण्डकी प्रदेशको लमजुङ (घरेढुङ्गा) मा १०२.२ मिलिमिटर र गोरखा (बारपाक) मा ९० मिलिमिटर वर्षा मापन गरिएको छ। कोशी प्रदेशको उदयपुर (कटारी) मा ९८.४ मिलिमिटर र झापा (चन्द्रगढी विमानस्थल) मा ९६.४ मिलिमिटर वर्षा भएको छ।