सेयर बजारमा लगातार तेस्रो दिन गिरावट: नेप्से ९ अंकले घट्दा कारोबार रकम पनि सुस्त
काठमाडौँ, २५ साउन । साताको दोस्रो कारोबार दिन सोमबार पनि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गिरावटलाई नै निरन्तरता दिएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागिरहेको बजारमा सोमबार पनि सोही क्रम दोहोरिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा झरेको छ । नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० अंकले घटेको छ भने फ्लोट परिसूचक ०.६१ अंक र सेन्सेटिभ फ्लोट परिसूचक ०.७२ अंकले ओरालो लागेका छन् ।
परिसूचकसँगै आज कारोबार रकममा पनि संकुचन देखिएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आज ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँमा खुम्चिएको छ । आज कुल ३५२ कम्पनीको १ करोड ९ लाख ६६ हजार कित्ता सेयर ५३ हजार ५२४ पटक खरिदबिक्री भएका छन् ।
आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ८.४७ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै, दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । यता, रिलायबल समृद्धि योजना २ को इकाई मूल्यमा भने ९.७० प्रतिशतको उच्च गिरावट देखिएको छ । अन्य धेरैजसो कम्पनीको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कमै रहेको छ ।
कारोबार रकमका आधारमा आज पनि सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ४६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको करिब ३० करोड र फस्ट माइक्रोफाइनान्स लघुवित्तको १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ९ वटाको परिसूचक घटेको छ भने मात्र ४ उपसमूहको सूचकमा सामान्य सुधार देखिएको छ । जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढेका छन् भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल र अन्य उपसमूहका लगानीकर्ताले आज गुमाएका छन् ।