पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ, २५ साउन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार अदालतमा भएको बयान र थुनछेक बहसपछि विशेष अदालतले यस्तो आदेश दिएको हो।

अदालतका अनुसार प्रतिवादी कार्कीको बयान सोमबारै सम्पन्न भएको थियो। बयानपछि सरकारी वकील र कार्कीका कानून व्यवसायीबीच भएको थुनछेक बहसपछि अदालतले उनलाई हिरासतमा राख्नु नपर्ने तर तोकिएको धरौटी बुझाउनुपर्ने ठहर गरेको हो। अदालतको यो आदेशसँगै कार्की १५ लाख रुपैयाँ बुझाएर तारेखमा रिहा हुनेछन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको दाबीसहित कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

कार्की मन्त्री रहेका बेला मूल खरिद सम्झौताको विपरीत चिनियाँ ठेकेदार कम्पनीलाई गैरकानूनी रूपमा कर छुट दिने निर्णय गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ। सोही कर छुटका कारण राज्यकोषमा ठूलो व्ययभार परेको दाबी आयोगले गर्दै आएको छ।
पोखरा विमानस्थलको ठेक्का प्रक्रिया र निर्माणका क्रममा भएका अन्य प्राविधिक तथा आर्थिक अनियमितताका विषयमा पनि अख्तियारले सुक्ष्म अनुसन्धान गरिरहेको छ। विशेष अदालतको यो आदेशसँगै अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म कार्कीले अदालतमा नियमित तारेख धाउनुपर्नेछ।