काठमाडौँ महानगर वडा नं. २७ द्वारा एक वर्षमा ७ सयलाई सीपमूलक तालिम : १५० प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

काठमाडौँ, २५ साउन । काठमाडौँ महानगरपालिका वडा नं. २७ ले विगत एक वर्षको अवधिमा करिब ७ सय जना व्यक्तिलाई विभिन्न विधामा सीपमूलक तालिम प्रदान गरेको छ । वडा कार्यालयले स्थानीयवासीको दक्षता वृद्धिका लागि गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, र हस्पिटालिटी लगायतका विभिन्न प्राविधिक तथा व्यवहारिक विधामा तालिम सञ्चालन गरेको हो । यसै क्रममा शनिबार आयोजित एक विशेष समारोहका बीच सेनेटरी प्याड उत्पादन, वेकरी, बारिस्ता, मोबाइल जर्नालिज्म, टुर अपरेटर र उद्घोषण विधाका तालिम पूरा गरेका १५० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले तालिम प्राप्त व्यक्तिहरू रोजगार वा स्वरोजगार बनेको हेर्ने महानगरको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरूलाई धेरै विधामा सामान्य ज्ञान लिनुभन्दा आफ्नो रुचिको एउटै विषयमा पूर्ण दक्ष हुन सुझाव दिँदै यसबाट मात्रै दिगो आयआर्जन सम्भव हुनेमा जोड दिनुभयो । महानगरले नागरिकलाई आत्मनिर्भर बनाउन सीपलाई उत्पादन र सेवासँग जोड्ने नीति लिएको उहाँको भनाइ थियो ।

सोही अवसरमा वडाध्यक्ष योगेशकुमार खड्गीले वडाले परम्परागत सीपदेखि अत्याधुनिक प्रविधिजन्य विषयसम्मका करिब एक दर्जन विधामा ७ सयभन्दा बढीलाई तालिम दिइसकेको जानकारी दिनुभयो । उहाँले तालिमको प्रभावकारिता उल्लेख गर्दै माटोबाट मखुण्डो बनाउने तालिम लिएकाहरूले व्यावसायिक रूपमा काम सुरु गरिसकेको र बारिस्ताका कतिपय प्रशिक्षार्थीहरू प्रशिक्षककै रूपमा स्थापित भइसकेको बताउनुभयो । वडाले यसअघि धिमे नृत्य, जुम्बा, पौडी र बालबालिकाका लागि फुटबल स्तरोन्नति लगायतका तालिम सम्पन्न गरिसकेको र आगामी दिनमा कम्प्युटरमा आधारित थप तालिमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । सीपयुक्त जनशक्ति निर्माण गरी वडालाई समृद्ध बनाउने अभियानमा यस्ता कार्यक्रमले ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।