इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा ८ दिनदेखि भीषण डढेलो: ५०० हेक्टर वन सखाप

एजेन्सी, २५ साउन । इन्डोनेसियाको जाभा टापुमा रहेको प्रसिद्ध ‘ब्रोमो तेङ्गर सेमेरु’ राष्ट्रिय निकुञ्जमा लागेको विनाशकारी डढेलो आठ दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण अहिलेसम्म ५०० हेक्टरभन्दा बढी वन क्षेत्र खरानी भइसकेको छ, जुन करिब ७०० फुटबल मैदान बराबरको क्षेत्रफल हो ।

जाभा विपद् न्यूनीकरण एजेन्सीका अधिकारी सात्रियो नुरसेनोका अनुसार डढेलो सोमबारदेखि निकुञ्ज नजिकैको ‘डिङक्लिक’ उपत्यका क्षेत्रमा रहेका आवासीय बस्तीतर्फ फैलिन थालेको छ । आगोलाई बस्तीमा पस्न नदिन वन रक्षक, सैनिक र अग्निनियन्त्रकहरू निरन्तर सङ्घर्षरत छन् ।

आगो निभाउन इन्डोनेसियाली सरकारले दुईवटा पानी छर्ने हेलिकप्टर, ठुलो सङ्ख्यामा दमकल र ‘स्प्रिङ्कलर’ जडित अत्याधुनिक ड्रोनहरू परिचालन गरेको छ । यद्यपि, अत्यधिक खडेरी र हावाका कारण नियन्त्रण कार्य चुनौतीपूर्ण बनेको छ ।

वन मन्त्री राजा जुली एन्टोनीका अनुसार सरकारले कृत्रिम वर्षा गराउने तयारी गरे पनि आकाशमा बादल नभएकाले सो मिसन अघि बढ्न सकेको छैन । विमानबाट बादलमा नुन र चाँदीका कण छर्केर वर्षा गराउने यो प्रविधि बादल नभई प्रभावकारी हुँदैन ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय गन्तव्य मानिने यो निकुञ्ज डढेलोका कारण पूर्ण रूपमा बन्द गरिएको छ । यसअघि सन् २०२३ मा पनि एक जोडीले ‘प्रि–वेडिङ’ फोटो खिच्ने क्रममा पटाका बाल्दा यहाँ ५०० हेक्टरभन्दा बढी वन जलेर नष्ट भएको थियो ।

मौसमविद्हरूका अनुसार यस वर्ष इन्डोनेसियामा ‘एल निनो’ मौसमी प्रभावका कारण लामो समयसम्म खडेरी र भीषण डढेलोको जोखिम छ । एल निनोले विश्वव्यापी रूपमा वायुको चाप र वर्षाको ढाँचा बदल्ने गर्दछ, जसले गर्दा दक्षिण–पूर्वी एसियामा अत्यधिक सुख्खा अवस्था सिर्जना हुन्छ ।

यस वर्षको पहिलो ६ महिनामा मात्रै इन्डोनेसियामा एक लाख ७ हजार हेक्टरभन्दा बढी भूमि डढेलोको चपेटामा परिसकेको छ । यो तथ्याङ्क सन् २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो, जसले वातावरणीय संकटको गम्भीर सङ्केत गरेको छ ।