गोरखा दुर्घटनामा ज्यान गुमाएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा, १ चैत । गोरखामा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका सातजना भारतीय नागरिकको शव कानुनी प्रक्रिया पूरा गरी भारतीय दूतावासलाई बुझाइएको छ । जिल्ला अस्पताल गोरखामा शव परीक्षण (पोस्टमार्टम) पश्चात् आइतबार ती शवहरू दूतावासका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको हो ।

प्रहरी निरीक्षक राजन लम्सालका अनुसार पोस्टमार्टम सकिएलगत्तै दूतावासबाट आएको विशेष टोलीलाई शव बुझाइएको हो । शव बुझेसँगै दूतावासको टोली काठमाडौँ प्रस्थान गरेको छ ।

मनकामना दर्शन गरी फर्कँदै गर्दा भएको थियो दुर्घटना
भारतको तमिलनाडू राज्यको चेन्नईबाट नेपाल भ्रमणमा आएका तीर्थयात्रीहरू शनिबार बेलुका मनकामना मन्दिरको दर्शन र पूजाआजा सकेर फर्कने क्रममा दुर्घटनामा परेका थिए । सहिद लखन गाउँपालिका–३ कानटार नजिकै बागमती प्रदेश १–००६ ख ८४३० नम्बरको माइक्रोबस अनियन्त्रित भई भिरबाट खस्दा सातैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको पहिचान:
१. मुतु कुमार (५८ वर्ष)
२. अनामलिक (५८ वर्ष)
३. मीनाक्षी (५९ वर्ष)
४. शिवगामी (५३ वर्ष)
५. विजायल (५७ वर्ष)
६. मीना (५८ वर्ष)
७. तमिलारशी (६० वर्ष)
पाँच जनाको अवस्था गम्भीर
दुर्घटनामा अन्य नौजना भारतीय नागरिक घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त माइक्रोबसमा ११ महिला र ५ पुरुष गरी १६ जना सवार थिए । चालकको अवस्था सामान्य छ भने सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चेन्नईबाट आएका २४ जना भारतीय तीर्थयात्री दुईवटा माइक्रोबस रिजर्भ गरेर नेपाल आएका थिए । उनीहरू मुक्तिनाथको दर्शन गरेर मनकामना पुगेका र त्यहाँबाट फर्कने क्रममा शनिबार साँझ उक्त दुःखद दुर्घटना भएको हो ।