उदयपुरमा हुरीबतासले रुख ढल्दा दुई जनाको मृत्यु, ६ घाइते

उदयपुर, ३ चैत । उदयपुरको कटारी नगरपालिकामा सोमबार साँझ आएको शक्तिशाली हुरीबतासका कारण रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन थापाका अनुसार, हुरीबताससँगै भाँचिएको कुटमेरो रुखको हाँगाले लागेर कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको मृत्यु भएको हो। त्यसैगरी, कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै सखुवाको रुख ढलेर किच्दा स्थानीय ६४ वर्षीय वीरेन्द्र चौधरीले ज्यान गुमाएका छन्।

रुख ढलेर गम्भीर घाइते भएका कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको छ। अन्य घाइतेहरू मृतक चौधरीकी ५ वर्षीया नातिनी बिनिशा, २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियारको भने कटारी अस्पतालमा सामान्य उपचारपछि सोमबार साँझ नै डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ। यसैबीच, हुरीबतासका कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाएको र अन्य भौतिक क्षतिसमेत भएको प्रारम्भिक विवरणहरू प्राप्त भइरहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो।