विमानस्थलबाट दुई भारतीयसहित देशभरबाट लागूऔषध कारोबारमा संलग्न २० जना पक्राउ

काठमाडौं, ३ चैत्र । नेपाल प्रहरीले देशभर सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसमेत रहेका छन्।

प्रहरीका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो १६० ग्राम ‘गाँजा’ जस्तो देखिने अवैध पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्। थाइल्यान्डको बैंककबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका उनीहरूलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राजधानी प्रवेश गर्ने मुख्य नाका चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पनि खैरो हेरोइन (ब्राउनसुगर) सहित एक जना पक्राउ परेका छन्।

प्रहरीले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट मात्रै १२ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ। जसअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकाका विभिन्न क्षेत्रबाट ६ जना र भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन्। त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट दुई जना र त्रिनगर नाकाबाट तीन जनालाई पक्राउ गरिएको छ।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट खैरो हेरोइन (ब्राउनसुगर) सहित दुई जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रमवापुरबाट दुई जना र कास्कीको पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका सबै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।