बैंकिङ कसुरमा प्रभु बैंकका विभागीय प्रमुख दिनेश डंगोल पक्राउ
काठमाडौँ, ३ चैत । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ। बैंकिङ कसुरको आरोपमा डंगोललाई मंगलबार काठमाडौँबाट नियन्त्रणमा लिइएको हो।
ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार डंगोलमाथि नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत काम गरेको र बैंकबाट प्रवाह भएको कर्जाको दुरुपयोग गर्ने तथा गराउने कार्यमा संलग्न रहेको आरोप छ।
उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो।
प्रभु बैंकमा भएको कर्जा हिनामिना प्रकरणमा ब्युरोले यसअघि नै बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनमाथि पनि अनुसन्धान सुरु गरिसकेको छ। सोही प्रकरणमा प्रभु म्यानेजमेन्टका पूर्वसेयरधनी एवं लेखा शाखामा कार्यरत हेमकुमार महाजुमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा हुने कर्जा दुरुपयोग र बैंकिङ अनियमितताका घटनामा सीआईबीले सक्रियता बढाएको छ। पक्राउ परेका डंगोललाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।