नवलपरासी पूर्वमा ४६ हजारभन्दा बढीले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
काठमाडौँ, चैत ४ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सञ्चालित विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सुरु गरिएको यस अभियानमा हालसम्म १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला सहभागी भएका छन् ।
स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंका अनुसार, मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेका छन् । स्थानीय तहहरूसँगको समन्वयमा अभियान प्रभावकारी रूपमा अगाडि बढेको र अपेक्षित उपलब्धि हासिल भइरहेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार, स्थानीय तहमध्ये मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उत्साहजनक देखिएको छ । मध्यविन्दुमा ४९ दशमलव ८ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत लक्ष्य पूरा भएको छ ।
जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि स्वास्थ्य कार्यालयले ३५ वर्ष माथिका उमेर समूहलाई लक्षित गरी चैत १ गतेदेखि ५ गतेसम्मका लागि यो अभियान सञ्चालन गरेको हो । अभियानमार्फत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
तथ्याङ्कअनुसार जिल्लामा सङ्क्रमणको अवस्था भयावह देखिएको छ । चालु आर्थिक वर्षमा मात्रै १५ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ जनाको मृत्यु भइसकेको छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा सात सङ्क्रमितमध्ये पाँच जनाको र आव २०८०/८१ मा आठ सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो ।
सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकैको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । स्वास्थ्यकर्मीहरूले अभियानको अन्तिम दिनसम्म निर्धारित लक्ष्य भेट्टाउने विश्वास व्यक्त गरेका छन् ।