विदेशी खेलाडीलाई श्रम स्वीकृति अनिवार्य : पर्यटक भिसामा खेलाए कारबाही गरिने अध्यागमनको चेतावनी

काठमाडौं, ५ चैत । नेपालमा आयोजना हुने कुनै पनि फुटबल लिग वा खेलकुद प्रतियोगितामा विदेशी खेलाडीलाई सहभागी गराउनुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ । पर्यटक (टुरिस्ट) भिसामा नेपाल आएका विदेशी खेलाडीलाई लिगमा खेलाइएको उजुरी परेपछि अध्यागमन विभागले कडा कदम चालेको हो ।

विभागले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई विदेशी खेलाडीको सहभागितामा कार्य सहमति (वर्क पर्मिट) र श्रम स्वीकृति सुनिश्चित गर्न निर्देशन दिएको छ ।

एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा विभिन्न क्लबहरूले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई मैदानमा उतारेको भन्ने उजुरी विभागमा परेको थियो ।

“विभिन्न मुलुकबाट पर्यटक भिसा लिएर आएका विदेशी नागरिकलाई फुटबल क्लबहरूले खेलमा सहभागी गराएको उजुरी प्राप्त भएको छ,” अध्यागमन विभागले विज्ञप्तिमा भनेको छ, “कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन एन्फा र सम्बन्धित क्लबहरूलाई अनुरोध गरिन्छ ।” यस विषयलाई गम्भीरतापूर्वक लिँदै विभागले आजैदेखि अनुगमन प्रक्रिया सुरु गरेको जनाएको छ ।

विज्ञप्तिमा स्पष्ट पारिएको छ कि यदि कुनै पनि विदेशी नागरिकले आफ्नो भिसाको उद्देश्यविपरीत (पर्यटक भिसामा आएर व्यावसायिक खेल खेलेको) गतिविधि गरेको पाइएमा तत्काल कानुनबमोजिम कडा कारबाही अगाडि बढाइनेछ ।

पछिल्लो समय नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा विदेशी खेलाडीको आकर्षण बढ्दो छ, तर उनीहरूको कानुनी हैसियत र श्रम स्वीकृतिका विषयमा पटक–पटक प्रश्न उठ्दै आएको छ । अध्यागमनको यस कदमले एन्फा र क्लबहरूलाई विदेशी खेलाडी भित्र्याउँदा कानुनी प्रक्रिया पूरा गर्न बाध्य बनाउने अपेक्षा गरिएको छ ।