इजरायलमा इरानको हालसम्मकै भीषण मिसाइल प्रहार, अमेरिकालाई कडा चेतावनी
एजेन्सी, ८ चैत्र । इरानले इजरायलमाथि हालसम्मकै सबैभन्दा शक्तिशाली र भीषण मिसाइल हमला गरेको छ। मध्य इजरायललाई लक्षित गरी आज बिहानैदेखि सुरु भएको यस आक्रमणमा परी कम्तीमा डेढ सय जना घाइते भएका छन्। इजरायली सेनाको रेडियोलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले यसको पुष्टि गरेका हुन्।
इरानी हमलाका कारण इजरायलका ठूला भवनहरूमा व्यापक क्षति पुगेको छ। यसपटक इरानले मुख्यगरी इजरायली ऊर्जा केन्द्रहरूलाई निसानामा पारेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार, इरानी आक्रमणका कारण इजरायलका विभिन्न सहरहरूमा शक्तिशाली विस्फोटका ठूला आवाजहरू सुनिएका छन्।
इजरायली सेनाले इरानबाट दोस्रो चरणको हमला अझै जारी रहेको र आकाशमै मिसाइलहरू निष्क्रिय पार्ने (इन्टरसेप्ट गर्ने) प्रयास भइरहेको जनाएको छ। आक्रमणमा परी घाइते भएका कैयौँ नागरिकलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ।
यो भीषण आक्रमणलाई इरानको कडा जवाफी कारबाहीका रूपमा हेरिएको छ। हालै अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका ऊर्जा केन्द्र र तेल खानीहरूमाथि आक्रमण गरेपछि रुष्ट बनेको तेहरानले प्रत्याक्रमण गरेको हो।
यसैबीच, इरानले अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई गम्भीर चेतावनी दिएको छ। तेहरानले स्पष्ट पारेको छ— यदि आफ्ना ऊर्जा तथा आणविक केन्द्रहरूमाथि थप आक्रमण गरिएमा त्यसको मूल्य अमेरिकाले पनि चुकाउनुपर्नेछ।
आफ्ना आणविक केन्द्रमाथि हमला भएमा अमेरिका र उसका समर्थक देशका ऊर्जा केन्द्र, खानेपानीका संरचना र सूचना प्रविधि (आईटी) केन्द्रहरूमा सिधै आक्रमण गर्ने इरानले चेतावनी दिएको छ।