प्रधानमन्त्री कप क्रिकेट : आसिफको सानदार शतक मद्दतमा एपिएफद्वारा बागमतीलाई २७२ रनको लक्ष्य

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रनको बलियो योगफल तयार पारेको हो।

एपिएफको इनिङ्स उकास्न ओपनर आसिफ शेखले सानदार शतकीय पारी खेले। उनले उत्कृष्ट ब्याटिङ गर्दै १४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ११४ रनको योगदान दिए।

त्यसैगरी, मध्यक्रमका ब्याटर सन्दीप जोराले ५२ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले भने लोकेश बमले २९ र युवराज खत्रीले अविजित २६ रन जोडे। कप्तान रोहित पौडेल भने मात्र ९ रन बनाएर पेभेलियन फर्किए।

बलिङतर्फ बागमती प्रदेशका लागि रिजन ढकालले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। त्यस्तै, इसान पान्डेले २ विकेट झार्दा सन्दीप लामिछाने र सोनु देवकोटाको नाममा समान १–१ विकेट रह्यो। अहिले बागमती प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ।

गत शनिबारदेखि सुरु भएको यस प्रतियोगितामा ३ विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ) तथा ७ वटै प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ। राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।