सडक विस्तार र कालोपत्रका लागि दरवाङवासीको सक्रियता: स्वस्फूर्त रूपमा सडक छेउका संरचना हटाउँदै
काठमाडौँ, चैत १० । म्याग्दीको मालिका गाउँपालिका–६ का बासिन्दाले बजार क्षेत्रको सडक विस्तार र कालोपत्र गर्ने योजनालाई सफल पार्न आफ्ना घरका पेटी र टहराहरू स्वस्फूर्त रूपमा हटाउन थालेका छन्। गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडकलाई व्यवस्थित र फराकिलो बनाउन स्थानीयवासीले देखाएको यो तत्परताले विकास निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार, वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई ६ मिटर फराकिलो बनाउने उद्देश्यले घरधनीहरू आफैँले संरचना भत्काएर सडक खाली गरिदिएका हुन्। स्थानीयको यो सहयोगले निर्माण व्यवसायीलाई काम अघि बढाउन सहज भएको र पक्की सडक बन्ने सुनिश्चितताले नागरिकमा उत्साह थपेको वडाध्यक्ष रोकाले बताउनुभयो।
यस अभियान अन्तर्गत धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरका पेटी तथा टहराहरू हटाउन नक्शाङ्कन गरिएको छ। धौलागिरि टोलका अध्यक्ष मेख पुन र नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले टोलवासीको बैठकबाटै सडक मापदण्ड अनुसार आवश्यक पर्ने जग्गा उपलब्ध गराउने र संरचना हटाउने सामूहिक निर्णय भएको जानकारी दिनुभयो। सडक विस्तारका क्रममा धेरै ठाउँमा विवाद हुने गरे पनि दरवाङमा स्थानीयकै सहमतिमा कम क्षति हुने गरी काम अघि बढाइएको छ।
सङ्घीय सरकारको समपुरक योजनामार्फत सञ्चालित यस आयोजनाको कुल अनुमानित लागत १ करोड ६६ लाख ४९ हजार ७३२ रहेको छ। ठेक्का प्रक्रियामार्फत सापकोटा बिल्डर्सले १ करोड २६ लाख ८२ हजार ८८८ रुपियाँमा निर्माणको जिम्मा पाएको छ। मालिका गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाका अनुसार, आगामी २०८३ असार १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यस योजना अन्तर्गत दरवाङको तल्लो र माथिल्लो बजार क्षेत्रमा १ किलोमिटर ४०० मिटर सडक कालोपत्र गरिनेछ ।
तीव्र रूपमा बस्ती विकास भइरहेको दरवाङ बजारका भित्री सडकहरू साँघुरा हुँदा सवारी आवागमनमा कठिनाइ र दुर्घटनाको जोखिम रहँदै आएको थियो। यसअघि बजारका केही क्षेत्रमा नाली निर्माण र प्रदेश सरकारमार्फत केही खण्ड कालोपत्र भइसकेको छ। अहिलेको विस्तार र स्तरोन्नतिले दरवाङको यातायात व्यवस्थालाई थप सुरक्षित र सहज बनाउने विश्वास गरिएको छ ।