करोडौँ भुक्तानी लिएर अस्पताल अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा, काम थाल्न अल्टिमेटम

खोटाङ, ९ चैत । सम्झौताको म्याद सकिएको लामो समय बित्दा पनि अस्पताल निर्माणको काम अलपत्र पारेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ।

नगरपालिकाको वडा नम्बर ७, महादेवस्थान (हलेसी) मा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अलपत्र पार्ने निर्माण कम्पनी ‘नमूना/हिमालयन जेभी विराटनगर’का ठेकेदार रमेश बस्नेतको गाडी नगरपालिकाले कब्जामा लिएको हो। नगरप्रमुख विमला राईले ठेकेदारको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडीसहित चाबी र ब्लुबुक नियन्त्रणमा लिएकी हुन्।

“२०८० सालमै बनिसक्नुपर्ने अस्पताल भवनको पहिलो चरणको कामसमेत पूरा भएको छैन। पटक–पटक लिखित र मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर गाडी नियन्त्रणमा लिनुपरेको हो,” नगरप्रमुख राईले भनिन्, “आवश्यक निर्माण सामग्री र जनशक्ति व्यवस्थापन गरेर काम सुचारु नगरेसम्म गाडी छाडिने छैन। यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि पत्राचार गरिसकेका छौँ।”

फोन गर्दा नउठाउने र बेपत्ता हुने गरेपछि नगरप्रमुख राईले हिउँदे नगरसभामार्फत निर्माण कम्पनीलाई ‘कालोसूची’ (ब्ल्याकलिष्ट) मा राख्ने चेतावनीसहितको सन्देश पठाएकी थिइन्। त्यसपछि मात्र ठेकेदार बस्नेत नगरपालिकाको सम्पर्कमा आएका थिए।

चैत ८ गते ठेकेदारका चालकलाई कार्यकक्षमै बोलाएर गाडीको चाबी खोसेपछि नगरपालिकाले ठेकेदारलाई नयाँ सर्तसहित काममा फर्काएको छ। नगर प्रवक्ता कमल गिरीका अनुसार, ठेकेदारले यही चैत १२ गतेदेखि निर्माण कार्य पुनः सुरु गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।

सम्झौताअनुसार ठेकेदारले अबको ४५ दिनभित्र बेसमेन्टको स्ल्याब, ६० दिनभित्र पहिलो तलाको स्ल्याब र अर्को ६० दिनभित्र दोस्रो तलाको ढलान सक्नुपर्नेछ। तोकिएको समयमा काम नगरे कानुनबमोजिम कारबाही भोग्न तयार रहने र कतै उजुरबाजुर नगर्ने सर्तमा ठेकेदारलाई हस्ताक्षर गराइएको नगरपालिकाले जनाएको छ।

नमूना/हिमालयन जेभीले २०८० साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ साउन ८ मा ठेक्का सम्झौता गरेको थियो। तर, सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि भवन जगभन्दा माथि उठ्न सकेको छैन।

अचम्मको कुरा त के छ भने, काम अलपत्र पारेको ठेकेदार कम्पनीले सम्बन्धित निकायबाट हालसम्म ४ करोड ११ लाख २८ हजार ५८ रुपैयाँ भुक्तानी लिइसकेको छ। ठेकेदार कम्पनीले भने भूगोलका कारण भवनको डिजाइन परिवर्तन गर्नुपरेको र मन्त्रालयबाट परिमार्जित डिजाइन स्वीकृत हुन ढिलाइ भएकाले काम रोकिएको दाबी गर्दै आएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीतिअनुसार २०७७ मङ्सिर १५ गते खोटाङका १० मध्ये ६ वटा स्थानीय तहमा एकैसाथ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो।

हलेसी तुवाचुङसहित जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्कमा १५/१५ शय्या, रावाबेँसीमा १० शय्या र साकेलामा ५ शय्याको अस्पताल निर्माण थालिएको थियो। तत्कालीन गाउँपालिका अध्यक्षको ‘कुनै पनि योजनाको औपचारिक शिलान्यास नगर्ने’ नीतिअनुसार साकेलामा भने बिना शिलान्यास काम सुरु गरिएको थियो।

पछि २०७८ सालमा थप तीन गाउँपालिका (बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ) मा पनि कम्तीमा ५ शय्याको अस्पताल निर्माण गर्ने योजना स्वीकृत भएको थियो। यता, २०४९ सालमै १५ शय्यामा स्थापना भएको दिक्तेलस्थित जिल्ला अस्पताललाई भने अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ।