नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
बाँके, ५ असोज । नेपालगञ्जमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएका छन्। बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन्।
भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहेका डा. बद्री चापागाईंका अनुसार पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल आएका छन्।
नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भई अस्पताल आउने बिरामीको घटना नयाँ भएको उनले बताए। “कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो,” डा. चापागाईंले भने, “तर अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको केश अचम्म लाग्दो छ।” उनले सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तुरुन्तै उपचारका लागि अस्पताल पुग्न सुझाव दिए।
डा. चापागाईंले दिएको तथ्याङ्कअनुसार पछिल्लो ४५ दिनमा एक हजार ३६ केश जनावरजन्य टोकाइका रहेका छन्। सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५, बिरालोबाट ११०, बाँदरबाट ४० र मुसाको टोकाइबाट घाइते भएका २१ जना बिरामी छन्। यसैगरी यही अवधिमा भेरी अस्पतालमा मात्रै सर्पदंशका ११८ बिरामी उपचारका लागि आएको उनले बताए। कीराको टोकाइबाट चार जना र टोक्ने जीवजन्तु थाहा नभएका १९ जना बिरामी पनि यो अवधिमा उपचारका लागि भेरी अस्पताल पुगेको तथ्याङ्क छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा यो नयाँ किसिमको घटना हो। बाँदरको टोकाइबाट घाइते बिरामीलाई जङ्गली जनावर मानेर रेबिजविरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
